News Griha :: न्यूजगृह
नागरिकता विधेयक राष्ट्रपतिलाई प्रमाणीकरण गर्न लगाउने मन्त्रिपरिषद्को सिफारिस फिर्ता लिनुपर्छ : प्रेम सुवाल
फाइल तस्बिर ।

काठमाडौं— नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गर्न लगाउने मन्त्रिपरिषद्को सिफारिस तत्काल फिर्ता लिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेका छन् । 

तत्कालीन राष्ट्रपति विद्या भण्डारीले प्रमाणीकरण नगरेको सो विधेयक संवैधानिक र कानुनी हिसाबले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गर्न नमिल्ने भएकाले त्यसलाई तत्काल फिर्ता लिनुपर्ने उनको तर्क छ । 

शुक्रबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद सुवालले विदेशीलाई नेपाली नागरिकता दिने बाटोमा सरकार अग्रसर भएको जिकिर गर्दै पछि हट्न आग्रह गरे । उनले गैरआवासीय नेपालीलाई गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था पनि उपयुक्त नभएको बताए । गैरआवासीय नेपालीको अर्थ नेपालको नागरिकता त्यागेर विदेशी नागरिकता लिएकाहरू हुन् । नेपालको भूराजनीति अनुसार गैरआवासीय नेपालीलाई गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था तत्काललाई उपयुक्त छैन,’ उनले भने । 

‘नेपालीलाई नेपाली नागरिकता दिनुपर्छ । तर, विदेशीलाई दिनु हुँदैन । २०६३ सालयता सार्वजनिक सर्जमिन गराइ विदेशीलाई जन्मको आधारमा दिइएको नेपाली नागरिकता खारेज गर्नुपर्छ । जन्मको आधारमा विदेशी नेपाली भएकाका छोराछोरीहरुलाई वंशजको आधारमा नेपाली नागरिकता दिनु उचित होइन,’ उनले थपे, ‘यो नेपाललाई सिक्किमजस्तै बनाउने हो । र, शासकहरु लेन्डुपजस्तै हुने बाटो हो । यो देशद्रोही बाटोबाट सरकार पछि हटनु जरुरी छ ।’

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १४:१८
Weather Update