News Griha :: न्यूजगृह
प्रमुख खाद्यान्न बालीको सिजन पूर्वनै समर्थन मूल्य तोक्ने व्यवस्था गरिएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषि उपजमा उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न समर्थन मूल्य तोक्ने व्यवस्था गरिएको बताएका छन् । 

शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसद अर्जुननरसिंह केसीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले कृषकले न्यून मूल्य पाउने र उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न प्रमुख खाद्यान्न बालीको सिजन पूर्वनै समर्थन मूल्य तोक्ने व्यवस्था गरिएको बताए । 

उनले उखु उत्पादक कृषकहरूलाई ७० रुपैयाँ प्रति क्विन्टलको हिसाबले अनुदान उपलब्ध गराउने व्यवस्था मिलाइएको जानकारी दिए । आधुनिक कृषि बजार पूर्वाधारहरूको विकास तथा व्यवसायीहरूसँगको सहकार्यमा खरिद सुनिश्चित गर्नेगरी कार्यक्रम सञ्चालित भएको उनको भनाइ छ । त्यसैगरी बजारको माग अनुसार नाशवान कृषि उपजको उत्पादन गर्न बजार सूचना प्रणाली स्थापना गरी कृषकहरूलाई सुुसूचित गर्ने कार्यक्रम बनाइएको पनि उनले जानकारी दिए । 

उनले बढी उत्पादन भएको कृषि उत्पादन कोल्डस्टोरमा राख्न सक्नेगरी पूर्वाधार विकासको काम अगाडी बढेको बताए । 

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १३:१२
Weather Update