
काठमाडौं— नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले संयुक्त सरकार गठनको प्रस्ताव गरेका छन् ।
पालैपालो कुर्सी साटासाट गरेर समय खेर फाल्नुसट्टा यो संसद्को कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण गर्नुपर्ने पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईको सुझाव छ ।
उनी शुक्रबार ट्वीटरमा लेख्छन्,‘गत आमचुनाव यताको नेपाली राजनीतिको दिशा र गति झन् झन् उतारचढावपूर्ण बन्दै जानु देश र जनताको निम्ति हितकर छैन ! विद्यमान निर्वाचन प्रणालीमा अन्तर्निहित अस्थिरता, दलका प्रमुख नेताहरूको अल्पदृष्टि र असीमित महत्त्वाकांक्षा, भूराजनीतिको निरन्तर दृश्य/अदृश्य दबाब, राज्यका स्थायी अंगहरूको क्षयीकरण/भ्रष्टीकरण आदि यसका प्रमुख कारण हुन सक्छन् । यस्तो अवस्थामा पालैपालो कुर्सी साटासाटमा समय खेर फाल्नुसट्टा यो संसदको कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण, संविधान र कानुनमा आवश्यक सुधार, शान्ति प्रक्रियाका बाँकी कामको समापन गर्नु ठीक होला कि ?’