News Griha :: न्यूजगृह
एमालेबाट निर्वाचित उपमेयर नै भारतीय नागरिक, मुद्दा दर्ता गर्न अदालतको आदेश

काठमाडौं— उच्च अदालत जनकपुरले सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवविरुद्ध मुद्दा दर्ता गर्न आदेश दिएको छ । यादव नेकपा एमालेबाट निर्वाचित उपमेयर हुन् ।

अदालतले जेठ ५ गते जिल्ला प्रहरी कार्यालयलाई उपमेयर यादवविरुद्ध अनुसन्धान गरी मुद्दा दर्ता गर्न आदेश दिएको थियो ।उक्त आदेश असार ३ गते प्रमाणीकरण भएको हो ।  अदालतले असार ६ गते सरकारी वकिल कार्यालयलाई पत्राचार गरी विपक्षीलाई आदेशका बारेमा जानकारी गराउनसमेत भनेको छ ।

उपमेयर यादवले भारतीय नागरिकता लिएको दाबी गर्दै कारबाहीको माग गर्दै जनप्रतिनिधिमा निर्वाचित भइसकेपछि कृष्णकुमार यादवले गत वर्ष प्रहरी कार्यालयमा उजुरी दिएका थिए । तर प्रहरीले मुद्दा दर्ता गर्न नमानेको भन्दै डाकनेश्वरी नगरपालिका वडा नं.३ का कृष्णकुमारले उच्च अदालतमा रिट दायर गरेका थिए । सो रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले मुद्दा दर्ता गर्न आदेश गरेको हो ।

‘निवेदक कृष्णकुमार यादव र विपक्षी जिल्ला प्रहरी कार्यालय राजविराज, सप्तरीसमेत भएको परमादेश रिट निवेदनमा विपक्षीका नाममा परमादेशको आदेश जारी हुने ठहरी यस अदालतबाट जेठ ५ गते आदेश भई उक्त आदेश असार ३ गते प्रमाणीकरण भएको हुँदा उक्त आदेशको प्रमाणित प्रतिलिपिसमेत यसै साथ राखी जानकारी गराइएको छ’,अदालतको पत्रमा भनिएको छ ।

उपप्रमुख मीराकुमारी र उनका पति महेन्द्रकुमार यादव भारतको बिहारस्थित मझारी पञ्चायतअन्तर्गतको मझारी गाउँका स्थानीय भएको भन्दै २०७९ साउनमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी परेको थियो । मीरा, महेन्द्रसहित उनीहरूका सन्तानले समेत झुठा विवरण पेस गरेर नेपाली नागरिकता लिएको आरोप उजुरीमा लगाइएको छ । भारतको मतदाता नामावलीमा समेत उपमेयर मीराको नाम रहेको दाबी उजुरीमा गरिएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  ०८:२९
Weather Update