
काठमाडौं— प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजसम्म दल दर्ता गर्न सकिने जनाएको छ । वैशाख १० गते हुने उपनिर्वाचनका लागि आयोगले चैत्र ८ देखि १२ गतेसम्म दल दर्ताको समय निर्धारण गरेको थियो । चितवन २, तनहुँ १ र बारा क्षेत्र नम्बर २ मा १० गते उपनिर्वाचन हुँदैछ ।
नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम दफा ४८ र ४९ बमोजिम राजनीतिक दल दर्ता गर्नुपर्ने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । उपनिर्वाचन भाग लिन चाहने राजनीतिक दलहरूले आज अपराह्न ४ बजेसम्म दल दर्ता गर्न सक्नेछन् ।
आयोगले यसअघि नै चैत्र १६ गते उपनिर्वाचन प्रयोजनका लागि आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरिसकेको छ । कार्यतालिका अनुसार चैत्र १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, २० गते उम्मेदवारको मनोनयन दर्ता र २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गरिनेछ ।













