
काठमाडौं— माइतीघर मण्डलामा रिले अनशनमा बसेका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीले माग पूरा गराएर मात्रै घर फर्किने बताएका छन् ।
नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले करिब एक महिनादेखि सुरु गरेको आन्दोलन जारी छ । परिषद्का अध्यक्ष गंगाराम तिवारीले यसपटक माग पूरा गराएर घर फर्किने जानकारी दिए । उनले भने, ‘एउटै मागका लागि सरकारसँग कति लड्नु ? कति आन्दोलन गर्नु ? त्यसैले यो अन्तिम आन्दोलन होस् भन्ने हाम्रो चाहना हो । सरकारलाई माग पूरा गर्न बाध्य बनाएरै छाड्छौं । एक जना नै किन नहोस् आन्दोलन जारी रहन्छ ।’
विद्यालय कर्मचारीहरुले निजामती कर्मचारीसरह तलब सुविधाको माग गरेका छन् । विद्यालय कर्मचारीहरुले विद्यालय सहायक (लेखापाल) लाई ३४ हजार ९०२ हुनुपर्ने, विद्यालय सहयोगी (का.स) २६ हजार ७०२ तलब हुनुपर्ने, कर्मचारीलाई दरबन्दीमा समायोजन गरी स्थायी बनाउनुपर्ने लगायतका माग राखेका छन् ।
संघीय शिक्षा ऐन जारी हुँदासम्म अविच्छिन्न कार्यरत विद्यालय कर्मचारीलाई स्थायी गर्न एक पटकका लागि उमेर हद नलाग्ने व्यवस्था गर्नुपर्ने, ६० वर्ष पुगेका विद्यालय कर्मचारीहरुलाई शिक्षक सरहको सेवा सुविधा दिएर अवकाशमा पठाउनुपर्ने पनि उनीहरुको माग छ ।
हाल सरकारले विद्यालयका लेखापाललाई १३ हजार ५०० रुपैयाँ र विद्यालय सहयोगीलाई ८ हजार रुपैयाँ तलब दिँदै आएको छ ।
जेठ २० गतेदेखि आन्दोलित विद्यालय कर्मचारीहरुले असार २ गतेदेखि देशभरका सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरेका थिए । तर सरकारले वार्ता समिति गठन गरेपछि बन्दको कार्यक्रम भने फिर्ता लिएका थिए । त्यसपछि सरकारसँगको वार्ता र आन्दोलनलाई निरन्तर अघि बढाइरहेका छन् ।