News Griha :: न्यूजगृह
बाढीपीडितलाई प्रदेश सरकारले पठायो राहत

विराटनगर— पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र पाँचथरमा बाढीपहिराेमा परी मृत्यु भएका मृतकका परिवारले पाउने गरी कोशी प्रदेश सरकारले प्रतिमृतक एक लाखका दरले राहत रकम पठाएको छ ।

पाँचथरमा मृतक जुना साउदेन, हेमराज भत्रे सञ्जोग लिम्बू र एलिषा माझी तथा ताप्लेजुङमा मृतक गणेश तामाङ, सुरेश राई र केशर राईको नजिकको हकवालाले पाउने गरी राहत रकम पठाइएको छ ।

सम्बन्धित जिल्ला प्रशासन कार्यालयले तोकेको कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा पुग्ने गरी उक्त राहत रकम बिहीबार कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पठाएको हो ।

सोमबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रतिमृतक एक लाखका दरले मृतकको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।

त्यसैगरी बिहीबार नै बाढीपहिरोमा परी क्षतिग्रस्त भएका सङ्खुवासभाका १७ वटा घर पुनः निर्माणका लागि राहतस्वरूप सात लाख ७० हजार पठाइएको छ ।

जसमा पूर्ण क्षति भएका १३ वटा घर पुनः निर्माणका लागि प्रतिघर ५० हजारका दरले र आंशिक क्षति भएका चार वटा घर पुनः निर्माणका लागि ३० हजारका दरले राहत रकम पठाइएको हो ।

सो रकम पनि जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले तोकेको कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा पठाइएको मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  २१:५०
Weather Update