
काठमाडौं— गत शुक्रबार राति ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–६ मेहेले गएको पहिरोमा परी बेपत्ता भएकाहरू अझै भेटिएका छैनन् ।
उनीहरुको स्थानीय र नेपाल प्रहरीले खाेजी जारी राखेका छन् । सिदिङ्वा गाउँपालिका–६ मेहेले मुकुभञ्ज्याङमा शुक्रबार राति गएको पहिराले एकै घरका तीन जनासहित चार जनालाई बगाएको थियो ।
जसमध्ये भोलिपल्ट विहान एकजनाको शव भेटिएको थियो । बाँकी एकै घरका तीन जनाको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता कुशराम कार्कीले बताए । ‘अहिले मौसममा केही सुधार भएको छ, बेपत्ताको खोजीका लागि थप जनशक्ति परिचालन गरेका छौँ’, उनले भने ।
बेपत्ता हुनेमा मेहेलेमा भालुखोपका ६३ वर्षीया भगीमाया बुढाक्षेत्री, उनकी बुहारी ३० वर्षीया सन्ध्या र नाति नौ वर्षीय प्रज्ज्वल छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गत आइतबार बिहान सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा पहिरोमा परी एकै परिवारका बाबुछोराको मृत्यु भएको छ ।
पहिराेमा परी मेहेलेका ६७ वर्षीय केशरबहादुर राई र छोरा ३६ केशरकुमारलाई मृतावस्थामा फेला पारिएको थियो । सोही पहिरोमा परी ४५ वर्षीय राजकुमार राई गम्भीर घाइते अवस्थामा नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो । अहिले विराटनगर न्यूरो अस्पतालमा राईको उपचार भइरहेको छ ।