News Griha :: न्यूजगृह
अकुत सम्पत्ति आर्जन गरेको आरोपमा विद्युत् प्राधिकरणका पूर्व कर्मचारीविरुद्ध भष्ट्राचार मुद्दा  

काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति आर्जन गरेको आरोपमा नेपाल विद्युत् प्राधिकरणका तत्कालीन मेकानिकल इन्जिनियर कृष्णप्रसाद यादवविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले यादवविरुद्ध एक करोड ४२ लाख ५२ हजार पाँच सय ५० बराबरको बिगो जरिवाना, कैद सजायको समेत माग गरेको छ । प्राधिकरणको विभिन्न कार्यालयमा कार्यरत रहँदा स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको पाइएको आयोगले दायर गरेको अभियोगपत्रमा उल्लेख छ । 

आयोगका अनुसार २०४८ फागुन १ गतेदेखि सार्वजनिक सेवामा प्रवेश गरेका यादवको वैध आय एक करोड ७१ लाख ४६ हजार ४४ बराबर देखिन्छ ।  इन्जिनियर यादव २०७९ जेठ १ गतेसम्म सेवामा रहेको पाइएको छ । सो अवधिमा उनले तीन करोड १३ लाख ९८ हजार पाँच सय ९४ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ । 

वैध आयको तुलनामा लगानी तथा खर्च बढी रहेको तथा त्यसको कुनै स्रोत समेत नखुलेको पाइएको आयोगले दायर गरेको मुद्दामा उल्लेख छ । वैध आय भन्दा बढी रहेको एक करोड ४२ लाख ५२ हजार पाँच सय ५० रुपैयाँ बराबरको बिगो कायम गरिएको आयोगले जनाएको छ । 

आयोगले गैरकानुनी रुपमा आर्जन गरेको तथा स्रोत नखुल्ने सम्पत्ति श्रीमती मञ्जुदेवी यादवको नाममा जग्गा खरिद, घर निर्माण, शेयर खरिदलगायतका प्रयोग गरेको पाइएको छ । 

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १७:००
Weather Update