News Griha :: न्यूजगृह
बालेन र हर्कलाई पार्टीमा जोड्ने चाहना छ : रवि लामिछाने

काठमाडौं —  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) सभापति रवि लामिछानेले २०८४ सालको चुनावमा बालेन्द्र साह र हर्क साम्पाङलाई पार्टीमा जोड्ने चाहना रहेको बताएका छन् । 

बिहीबार पार्टी स्थापनाको एक वर्ष पुगेको सन्दर्भमा आयोजित कार्यक्रममा सञ्चारकर्मीसँग उनले निरन्तर राम्रो काममा सहकार्य गर्दै आएको भन्दै पार्टीमा उनीहरूलाई जोड्ने आफ्नो चाहना रहेको बताए । 

उनले भने, ‘यस्तो भए त राम्रो हुन्थ्यो । असाध्यै राम्रो हुन्थ्यो । मेरो चाहना पनि उहाँहरूलाई जोड्ने चाहना छ । उहाँहरूसँग सम्बन्ध सौहार्द छ । निरन्तर उहाँहरूको राम्रो काममा सघाएको छु । राम्रो संकेत बन्न सके राम्रो हुन्छ ।’

तर उनीहरूले पार्टी खोल्ने बारे आफूले नसुनेको लामिछानेले बताए । उनले भने, ‘जसले जहाँबाट राम्रो गर्छ । कसैले राम्रो चिज गरेको छ भने सघाउने र मद्दत गर्ने हाम्रो नीति हुनेछ ।’ 

लामिछानेले अहिले मोर्चा आफूहरूको लागि नयाँ नभएको भन्दै अघोषित मोर्चा तोडेर गत उपनिर्वाचनमा नयाँ रेकर्ड नै राखेको दाबी गरे । उनले भने, ‘दलहरूले गठबन्धन चुनावमा गरेका होइनन् र? डा. स्वर्णिम वाग्लेको निर्वाचन क्षेत्रमा गरेको होइन र? दलहरूको लागि नयाँ होला त्यो मोर्चा, हाम्रा लागि नौलो कुरा होइन, घोषित, अघोषित मोर्चा तोडेर गत उपनिर्वाचनमा नयाँ रेकर्ड नै राखेका हौं। ’
 

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १३:५६
Weather Update