News Griha :: न्यूजगृह
यादवले हाँस्दै भने— बाबुरामजीको एक्लै हिँड्ने बानी छ 

काठमाडौं—  जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चामा आवद्ध दलहरूबीचको एकीकरण सम्भावनालाई अस्वीकार गरेका छन् ।

चार दल मिलेर सोमबार बनेको समाजवादी मोर्चामा सामेल जसपा पार्टीका अध्यक्ष यादवले बिहीबार गरेको पत्रकार सम्मेलनमा अहिले निर्माण भएको मोर्चा नै एउटा पार्टी बन्ने अनुमान गलत भएको बताए ।

उनले मोर्चामा भएका कुनै दलमध्ये कुनै अर्को दलले एकता गर्न सक्ने तर, मोर्चा नै पार्टी बन्नेमा उनको तर्क छ । ‘मोर्चा नै एउटा पार्टी बन्छ भन्ने जुन आकलन कसै कसैले गरेका छन् भने त्यो गलत हो । पार्टीहरुको अलग अस्तित्व रहन्छ र जुन घोषित साझा विषयहरू छ त्यसमा सहकार्य हुन्छ। बाँकी पार्टी स्वतन्त्ररूपले आफ्ना मुद्दामा आफ्ना कार्य गर्छन्,’ यादवले भने । 

त्यस्तै उनले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) मोर्चा निर्माणमा कहिल्यै इच्छुक नदेखिएको बताए । ‘बाबुरामजी कहिले पनि मोर्चामा आएको देखिएन्, एक वर्ष अघिबाटै मोर्चाको तयारी हुँदै आएको हो, उहाँको संलग्नता कहिले पनि देखिएन् । खोई बाबुरामलाई समातेको पनि होइन, छोडेको पनि होइन हामीले ।’ 


मोर्चाले लिएको अवधारणलाई स्वीकार गर्ने हो भने मोर्चामा आउन चाहने सबैलाई समेट्ने बताएका उनले भट्टराईलाई एक्लै हिँड्न चाहने नेताको रुपमा चित्रण गरे । यादवले हाँस्दै भने, ‘बाबुरामजीको एक्लै हिँड्ने बानी छ । त्यसले गर्दा ठीकै भाछ कि जस्तो छ ।’ 


 

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १३:४२
Weather Update