News Griha :: न्यूजगृह
दूरगामी प्रकृतिका निर्णय नलिन गण्डकी कांग्रेसको ध्यानाकर्षण

पोखरा— नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले नेकपा एमाले नेतृत्वको वर्तमान सरकारलाई दूरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न ध्यानाकर्षण गराएका छन् ।

संसदीय दलका तर्फबाट आज आयोजित पत्रकार सम्मेलनमा उनले माओवादीले समर्थन फिर्ता लिएसँगै वर्तमान गण्डकी प्रदेश सरकार अल्पमतमा परेको भन्दै कुनै पनि दूरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न ध्यानाकर्षण गराएका हुन् ।

एमालेका नेता खगराज अधिकारी नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रले शुक्रबार सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो ।

निर्वाचनका समयमा राजनीतिक दलहरूबीच भएको तालमेल तथा त्यसपछि बनेको सरकारमा भएको समीकरण बदलीएको छ । नयाँ गठबन्धन निर्माण भएसँगै देशको राजनीति पुनः सही ‘लिक’ मा प्रवेश गरेको दलका नेता पाण्डेको दाबी छ ।

अल्पमतमा परेको र बहुमत जुटाउने सम्भावना पनि न्यून रहेको अवस्थामा वर्तमान सरकारले आर्थिक दायित्व सिर्जना गर्न, कर्मचारी नियुक्ति, सरुवा–बढुवा लगायतको काम गर्नु न्यायसंगत नहुने उनले बताए ।

अब सरकारको नेतृत्व कांग्रेसले गर्ने दाबी गर्दै नेता पाण्डेले गठबन्धनका दलबीच छलफल गरेर अघि बढ्ने बताए ।

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  २१:३६
Weather Update