News Griha :: न्यूजगृह
विप्लव माओवादीमा फर्किन लागेका हुन् ? 

काठमाडौं— बिहीबार प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच बालुवाटारमा भेटवार्ता भयो । 

स्रोतका अनुसार प्रचण्ड र विप्लवबीच माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे छलफल  भएको छ । माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा, नेकपा एकीकृत समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाबीच असार ४ गते समाजवादी मोर्चा घोषणा भएको थियो । 

समाजवादी मोर्चालाईसमेत प्रभावकारी बनाउने विषयमा पनि उनीहरूबीच छलफल भएको स्रोतको दाबी छ  । सत्ता गठबन्धनमा आबद्ध तीन दलले संविधान र संसदीय प्रणालीको विरोधी दलसँग मिलेर समाजवादी मोर्चा गठन गरेपछि मुलुकको राजनीति तरङ्गित छ । 

प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्र अध्यक्ष प्रचण्डले कान्तिपुर टेलिभिजनसँगको कुराकानीमा नेपाली कांग्रेसको सहमति मै समाजवादी मोर्चा गठन भएको दाबी गरेका छन् ।

उनले भने, ‘समाजवादी मोर्चा बनाउने कुरामा कांग्रेसको पनि सहमति छ । कांग्रेस सभापति शेरबहादुर देउवा जीले पनि तपाईँहरूले छिट्टो मोर्चा बनाउनुस् बन्नुहुन्थ्यो ।’

समाजवादी मोर्चाको अवधारणा नयाँ नभएको प्रधानमन्त्री प्रचण्डको दाबी छ । उनले भने, ‘गएको स्थानीय चुनाव अगाडि नै तीन पार्टीबीच मोर्चाबद्ध भएर जानुपर्छ भन्ने थियो । ड्राफ्ट पनि बनिसकेको थियो ।’

अहिलेको व्यवस्थालाई स्वीकार गरेपछि नै विप्लवलाई समाजवादी मोर्चामा आवद्ध गरिएको उनले दाबी पनि गरे  । प्रधानमन्त्री प्रचण्डले विप्लव मोर्चामा सामेल हुनु गुणात्मक र क्रान्तिकारी महत्त्व भएकोसमेत दाबी गरे । 

समाजवादी मोर्चा बामपन्थीहरूको एकताको प्रारम्भिक चरण रहेको पनि प्रचण्ड बताउँछन् । असार ४ मा प्रचण्डले समाजवादी मोर्चा राजनीतिक परिवर्तनविरुद्ध लाग्नेहरूका निम्ति युद्धको घोषणा भएको बताएका थिए ।

समाजवादी मोर्चा घोषणा कार्यक्रममा प्रचण्डले परिवर्तनलाई होच्याउने, अपमानित गर्ने अराजक र प्रतिगामी प्रवृत्तिका मान्छेहरूले टाउको उठाउन खोजेका भन्दै समाजवादी मोर्चा तिनीहरू विरुद्धको युद्ध भएको बताएका हुन्  ।

उनले भने, ‘कोही पनि अग्रगमनको पक्ष, प्रगतिशील पक्ष, वामपन्थी पक्ष, संघीय गणतन्त्रका पक्षधर हामी यो मोर्चाबाट बिल्कुल डराउनुपर्ने आवश्यकता छैन बरु आउनुहोस् हात मिलाऊ । के कुरा साँचो हो भने यो मोर्चा तिनका विरुद्ध युद्धको घोषणा भने पक्कै पनि हो । यो मोर्चा सबैसँग बराबरीवाला मोर्चा होइन ।’

समाजवादी मोर्चा गठनको दूरगामी महत्त्व रहेकोसमेत प्रचण्डको बुझाई छ । क्षणिक र आवेगमा समाजवादी मोर्चा गठन नगरिएको पनि उनले प्रष्ट पारे । 

समाजवादी मोर्चा घोषणा अघि झिल्को डटकमसँगको कुराकानीमा विप्लवले पार्टी एकता बारे छलफल भएपनि मूर्तरूप नभएको बताएका थिए ।  उनले समाजवादी मोर्चा गठन नै पार्टी एकताको पहलकदमी भएकोसमेत बताएका थिए ।  

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १०:०५
Weather Update