
काठमाडौं— देशका विभिन्न भू–भागमा बिहीबार वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित कोशी र बाग्मती प्रदेशका तराईका भू–भागमा सामान्य बदली रहेको छ ।
बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी र बाग्मती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
विभागका अनुसार राति कोशी, बाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ । देशका बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।