News Griha :: न्यूजगृह
विद्यार्थीलाई असल राजनीति सिकाउँदै देशभक्त नागरिक बनाऔँ : बिजुक्छेँ

भक्तपुर— नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले विद्यार्थीलाई असल राजनीति सिकाएर देशभक्त नागरिक बनाउनुपर्ने बताएका छन् । उनले देशभक्त नागरिक बनाउन टोलटोलमा गएर अहिलेका छोराछोरीलाई राजनीति सिकाउन आह्वान गरका छन् ।

भक्तपुर नगरपालिकाको १४औं नगरसभा बुधबार उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेँले अहिलेको राजनीति विकृति बनेको भन्दै युवा पुस्ताका विद्यार्थीलाई असल राजनीति सिकाएर देशभक्त बनाउन आह्वान गरेका हुन् ।

नगरपालिकाले सञ्चालन गरेका कलेज आफैंमा ख्वप विश्वविद्यालय रहेको भन्दै उनले शिक्षक र विद्यार्थीको स्तर वृद्धि गर्नसके शैक्षिक क्षेत्रमा ठूलो उपलब्धि हासिल हुने बताए ।

राजनीति शास्त्र, अर्थशास्त्र, भूगोल र इतिहासबारे अध्ययन गर्न भक्तपुरका नयाँ पुस्तालाई उत्साहित गर्नुपर्ने बताउँदै अध्यक्ष बिजुक्छेँले नयाँ बस्तीमा पार्किङ व्यवस्थापनको लागि नयाँ नक्सापासको नियम लागू भए भक्तपुर नगर अझ सुन्दर र व्यवस्थित हुने बताए ।

कार्यक्रममा नेमकिपाका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले ख्वप विश्वविद्यालय पारित गराउन सदनमा निरन्तर प्रयासरत रहेको बताउँदै भ्रष्टाचार र आर्थिक अनियमिततामा पूर्व प्रधानमन्त्री, मन्त्रीहरुको नाम जोडिनु देशकै लागि विडम्बनाको विषय भएको बताए ।

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  २२:०४
Weather Update