काठमाडौं— काठमाडौं सपना देख्नेहरूको शहर हो । सपना देख्नेहरू यही बाटो हुँदै कहाँ कहाँसम्म पुग्छन् । कति सपनाहरू यही शहरमा रोकिन्छन् त कति सपनाहरू यतै सकिन्छन् र शहर छाडेर बाहिरिन्छन् । नयाँ–नयाँ सपनाहरू उदाइरहेका छन्, कति सपनाहरू अस्ताइरहेका छ्न् ।
सपना देख्ने मानिसहरूले भरिभराउ यो शहर उनीहरूकै सपना पूरा गर्ने दौडमा ब्यस्त छ । सायद अभ्यस्त पनि । नेपाली समाज भौतिकवादी भैसकेको छ । भौतिकवादी समाजले देख्ने सपना भौतिक नै हुन्छन् । सुन्दर घरको सपना । गाडीको सपना अनि मनग्ये बैंक ब्यालेन्सको सपना । सायद समाजले देख्ने साझा सपना यस्तै हुन्छन् ।
आफ्नो लागि सपना देख्दादेख्दै समयले मानिसलाई यस्तो स्थानमा पुर्याइदिन्छ कि अर्काको जीवनलाई आफ्नो अधिकारमा लिएर सपना देख्न थाल्छ । आफ्नै लागि सपना देख्दा मानिस सुखी या दुःखी दुबै बन्न सक्छ । तर जब मानिसले अरूलाई आफ्नो अधिकारमा राखेर सपना देख्न थाल्छ, धेरै अवस्थामा त्यो दुखान्त बनिदिन्छ ।
बुढ्यौलीले छोइसकेको एक व्यक्ति जसले आफूलाई दोषी र अपमानित ठान्छ । उसको आत्मपहिचान सकिएको छ । उसमा निराशा छ र शक्तिहीनता । तर उसको सपना मरिसकेको छैन । आफ्नो सपना छोरामाथि थोपर्छ । आफ्नो अधिकार प्रयोग गर्दै छोरामाथि उसले देखेको सपना पूरा गर्न वीरेनप्रताप कार्कीले जुन बाटो अपनाउँछ, त्यो साँच्चिकै भयानक छ । ठ्याक्कै त्यस्तै बाटो, जुन केही समय अगाडि प्रेमप्रसाद आचार्यले समाएका थिए ।
वीरेनप्रताप कार्की (रोय दीप) अर्थात्, नाटक ‘एउटा सपनाको अवसान’ को मुख्य चरित्र । ऊ एउटा सेल्सम्यान हो । सेल्सम्यानका लागि सामान बेच्ने कुराले जति अर्थ राख्छ त्यति नै आफू बेचिनुले पनि अर्थ राख्छ । अर्थात् सेल्सम्यानको लागि स्वयं आफू नै एउटा वस्तु (कमोडिटी) हो । जब बजारले सेल्सम्यानको कुरा रुचाउँदैन वा सेल्सम्यान स्वयंलाई रुचाउँदैन तब ऊ केही कामको रहँदैन । बजारतन्त्रको सूत्र नै यही हो ।
वीरेनप्रतापले जब आफू बजारमा बिक्न छाडेको महसुस गर्छ तब उसले आफ्नो जेठो छोरालाई त्यो बागडोर सम्हाल्न दबाव दिन थाल्छ । तर सपना सबैका कहाँ एकै हुन्छन् र ? छोरो सनुपप्रतापको आफ्नै सपना छ । अभिभावकीय हठको अगाडि लाचार भएर बुबाको सपना पूरा गर्नेतर्फ सनुपप्रतापले पाइला चाले तर कुनै पनि हालतमा सनुपप्रतापबाट बुबाले चाहेको जस्तो काम हुँदैन अर्थात् बजारमा सनुपप्रताप बिक्दैन ।
सपना पूरा गर्ने दौड, बजारमा आफूलाई बिकाउने चिन्ता, पारिवारीक अनि विवाहेत्तर सम्बन्ध । अर्काको जीवनलाई आफ्नो अधिकारमा लिएर देखेको सपना पूरा गराउन आफू अनि आफ्नै सपनाको हत्या । यस्ता अनेकन किस्साहरूलाई निर्देशकले नाटक ‘एउटा सपनाको अवसान’ मा उनेका छन् । नाटक हेरिसकेपछि दर्शकलाई आफूले देखेकाे सपनाबारे सोच्न बाध्य बनाउँछ ।
सन् १९४९ को अमेरिकी समाजमा एउटा व्यक्तिको सफलता ऊसँग भएको घर, गाडी र कमाइले निर्धारण गर्थ्याे । ठ्याक्कै अहिलेको नेपालकै जस्तो । ८० वर्ष अगाडिको अमेरिकी समाजको यथार्थलाई नाटककार आर्थर मिलरले एउटा सेल्सम्यानको नजरबाट अगाडि ल्याए । आर्थरको त्यही नाटक ‘डेथ अफ अ सेल्सम्यान’ को नेपाली संस्करण अहिले काठमाडौंमा मञ्चन भइरहेको, ‘एउटा सपनाको अवसान’ नाममा ।
नाटकको निर्देशक अनुप बराल हुन् । कवि तथा लेखक विप्लव प्रतीकले नेपाली समाज सुहाउँदो नाटकको अनुवाद गरेका छन् । नाटकमा दीया मास्के, रोय दीप, दिव्यदेव, विकास जोशी, मेनुका प्रधान, सन्देश शाक्य, उत्पल झा, सूर्यमान लिम्बु, अविरल प्रताप अधिकारी, निकिता आचार्य, विशला पुलामी, सुरज मल्ल, शेखर चापागाँईंलगायत कलाकारले अभिनय गरेका छन् ।
२४ घण्टाभित्र एउटै घरभित्र घट्ने विभिन्न घटनालाई निर्देशक बरालले प्रस्तुत गरेका छन् । ‘फूल लेन्थ फिचर फिल्म’ कै शैलीमा यो नाटकमा मध्यान्तरको प्रयोग भएको छ । र, नाटक आफैं पनि उत्तिकै लामो छ । निर्देशकीय शिल्प, कलाकारको प्रस्तुति, संगीतको प्रयोग, फिल्मी शैलीमै प्रयोग गरिएको ‘म्याच कट इफेक्ट’ र ‘ह्यालिस्यूनेशन इफेक्ट’ हरूले गर्दा करिब ३ घण्टाको नाटक हेर्दा पट्यार लाग्दैन ।
सपना देख्नेहरूको कथा भएकोले नाटकमा हरेक दर्शकले आफूलाई ‘रिलेट’ गर्छन् । मण्डला थिएटरको भव्य सेटमा चैत्र १० देखि मञ्चन भइरहेको नाटकको सेट डिजाइनर अमृत कार्की हुन् । नाटकमा न्ह्यू बज्राचार्यले संगीत दिएका छन् । रञ्जना भट्टराईले भेषभूषाको जिम्मा सम्हालेको यो नाटकलाई गोविन्द पराजुलीले निर्माण गरेका हुन् । १ महिनासम्म मञ्चन हुने यो नाटकका लागि ३५ लाख रुपैयाँ खर्च हुने निर्माण पक्षको अनुमान छ ।
आर्थर मिलरले ८ दशक अगाडि लेखेको यो नाटकले नाटक विधामा पुलित्जर पुरस्कार र सर्वोत्कृष्ट नाटक विधामा टोनी अवार्ड पाइसकेको छ । आर्थरको यो नाटकमाथि फिल्म पनि निर्माण भइसकेको छ । यो नाटक पहिलोपटक सन् १९४९ मा न्यूयोर्कको ब्रोडवे थिएटरमा मञ्चन भएको थियो । २०औँ शताब्दीको महान् नाटक मध्येका एक यो नाटक हालसम्म विश्वका थुप्रै भाषामा अनुवाद गरी मञ्चन भइरहेको छ ।