
काठमाडौं— नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पार्टी सभापति र महामन्त्रीलाई एकले अर्कोलाई नखुइल्याउन आग्रह गरेका छन् ।
बुधबार नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद खतिवडाले पार्टी सभापति र महामन्त्रीलाई एकले अर्कोलाई नखुइल्याउन आग्रह गरेका हुन् ।
उनले एकले अर्कोलाई खुइल्याएर राजनीतिमा कोही पनि दह्रो नहुने बताए । उनले पार्टी सभापतिले महामन्त्रीलाई साथमा लिएर जानुपर्ने र महामन्त्रीले पनि सभापतिसँग समन्वय गरेर काम गर्नुपर्ने बताए ।
‘महामन्त्री पद पनि निर्वाचित सभापति पछिको असाध्यै महत्त्वपूर्ण पद हो । सभापतिसँग समन्वय गरेर महामन्त्रीले जानुपर्छ र सभापतिले महामन्त्रीलाई साथमा लिएर जानुपर्दछ,’ उनले भने,‘अहिले कांग्रेसले मात्र विकल्प खोजेर हुँदैन । कांग्रेसकै विकल्प खोज्ने समूह पनि देशमा निर्माण भएका छन् । त्यसैले कांग्रेस पार्टी पार्टी पनि बचाउने, विधान पनि बचाउने, संविधान पनि बचाउने, देश पनि बचाउने बाटोमा जानुपर्छ । एकले अर्कोलाई खुइल्याएर, कमजोर बनाएर नेपालको राजनीतिमा कोही नेताहरु दह्रा हुँदैनन् । सबैलाई अनुरोध गर्न चाहन्छु ।’