News Griha :: न्यूजगृह
सरकारकी प्रवक्ताको बालेन लक्षित अभिव्यक्ति : 'स्टन्ट'भन्दा आफ्नो क्षेत्राधिकार बुझेर काम गर्नुपर्छ
फाइल तस्बिर ।

काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहप्रति लक्षित गर्दै स्टन्ट भन्दा आफ्नो क्षेत्राधिकार बुझेर काम गर्नुपर्ने बताएकी छन् । 

उनले दक्षिण भारतीय चलचित्र आदिपुरुषमा रहेको सीता भारतकी छोरी हुन् भन्ने शब्द हटाएर मात्रै सेन्सर बोर्डले चलचित्र चल्न दिएको बताइन् । 

‘सेन्सर बोर्डले कुनै पनि चलचित्र चल्नुअघि सेन्सर गर्छ । सेन्सर बोर्डको नियमभन्दा विपरीत भयो भने त्यसलाई हामी सेन्सर गरेर मात्रै अनुमति दिन्छौँ । यो विषयमा पनि जेठ ३१ मा यो आदिपुरुष भन्ने फिल्ममा भएको सीता भारतीय छोरी भन्ने आशयको अभिव्यक्ति हटाउने निर्णय त्यही बेलामा सेन्सर बोर्डले गरेको थियो । सेन्सर बोर्डले निर्णय गरेर मात्रै प्रदर्शनको स्वीकृति दिएको हो,’ उनले भनिन्, ‘चलचित्रको मूल भाग भारतमा पनि हटाउनुपर्छ र नहटाइ चल्न दिनु हुँदैन भन्नेकुरा हाम्रो कूटनीतिक सम्बन्ध कायम गर्नका लागि हाम्रो मन्त्रालय होइन, परराष्ट्र मन्त्रालय हो ।’ 

‘चल्न दिने वा नदिने भन्नेमा सबैले आफ्ना–आफ्ना क्षेत्राधिकार बुझ्नुपर्छ । भावनात्मक हिसाबले हामी सबै एकै ठाउँमा छौँ । स्टन्ट, भावना र मनोविज्ञानमा खेल्ने भन्दा पनि यसको दीर्घकालीन समाधान खोज्नुपर्छ,’ उनले बालेनप्रति लक्षित गर्दै भनिन् । 

फरक प्रसंगमा उनले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा राजनीतिको उपचार खोज्न नभइ स्वास्थ्य उपचारका लागि नै सिंगापुर गएको बताइन् । 

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १८:०९
Weather Update