
काठमाडौं— नेकपा एमालेका सचेतक महेश बर्तौलाले एमालेले चाहेमा एक हप्ताभित्रमा सरकार ढाल्न सक्ने बताएका छन् ।
बुधबार नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सचेतक बर्तौलाले भने, ‘यदि नेकपा एमालेले चाहेर यसलाई ढाल्नका लागि प्रयत्न गर्ने हो भने हामी एक हप्ता भित्रमा यो सरकारलाई ढाल्न सक्छौँ ।’
उनले यो सरकारको आयु प्रत्येक एक दिनका लागि भएको बताए । यद्यपि, सरकार एमालेको प्रयत्नले ढल्ने नभइ गठबन्धनभित्रकै अन्तरविरोध, असमझदारी र अविश्वासले ढल्ने बताए । ‘यो सरकारको आयु प्रत्येक दिन एक दिनका लागि हो । भोलिपल्ट, अर्को एक दिनको लागि हो । कतिखेर यो सरकार ढल्ने, एमालेको कारणले, एमालेको प्रयत्नले होइन । उहाँहरूबीचको अन्तरविरोध, असमझदारी छ, जुनखालको अविश्वास छ, त्यसको कारणले गर्दा पनि यो सरकार लामो समय टिक्दैन भन्ने तथ्यले प्रमाणित गरिसकेको छ,’ उनले भने ।
उनले एमालेले प्रतिपक्षी दलहरूको मोर्चा नबनाउने पनि स्पष्ट पारे । बर्तौलाले एमालेले आफ्नै सामथ्र्य र जनताको आदेशका आधारमा संसद्मा भूमिका निर्वाह गर्ने बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताबाट हट्नुपर्ने हो कि भन्ने त्रासका कारण समाजवादी मोर्चा बनाएको बताए । समाजवादी मोर्चा बनाउनुले देशलाई अन्यौलता र अस्थिरतातर्फ लान मद्दत पु¥याउने उनको भनाइ छ ।
उनले समाजवादी मोर्चा गठबन्धनभित्रको एउटा गुट भएको बताए । यसले देश र जनताको हितमा काम नगर्ने टिप्पणी गरे ।
सचेतक बर्तौलाले प्रदेश सभाले पारित गरेर नामाकरण गरिएको प्रदेशको नामलाई संघीय सरकारको दस्ताबेजमा अस्वीकार गर्नु गम्भीर विषय भएको बताएका छन् । उनले पर्यटनमन्त्रीले दूषित नियतका साथ मन्त्रालयको बजेट वक्तव्यमा कोशी प्रदेशको नाम समावेश नगरेको बताए ।
उनले भने, ‘नेपालको संविधानबमोजिम सम्बन्धित प्रदेश सभाहरूले पारित गरेर पठाइएको नामाकरणको विषयमा संघीय संसद्मा सरकारको तर्फबाट प्रस्तुत गर्ने दस्ताबेजमा त्यसलाई अस्वीकार गरेर ल्याउने विषयमा गम्भीर विषय हो । यो सामान्य विषय होइन । सच्याएर ल्याउनुभन्दा पनि सबै प्रदेश हटाएर ल्याउनुभएको छ,’ उनले भने, ‘उहाँ बदनियतका साथ, पर्यटनमन्त्रीमा दूषित नियत यसप्रति छ । आन्दोलनकारीहरूलाई अघोषित हिसाबले साथ, समर्थन छ भन्नेकुरा संघीय मन्त्रीको जिम्मेवारीमा रहेर देखाउन खोज्ने प्रवृत्ति राम्रो होइन ।’
पर्यटनमन्त्रीले पदबाट राजीनामा दिएर पहिचानवादीहरूलाई समर्थन गर्न बर्तौलाले आग्रह गरे ।