News Griha :: न्यूजगृह
‘सरकारले विद्युतीय राहदानी लागु गर्ने निर्णय बेवास्ता गर्‍यो’
फाइल तस्बिर ।

काठमाडौं— नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले अन्तर्राष्ट्रिय स्तरको राहदानी बनाउने निर्णय गरेर कार्यान्वयमा बेवास्ता गरेको बताएका छन् । 

बुधवार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा उनले  सरकारले विद्युतीय राहदानी लागु गर्ने निर्णय गरेर कार्यान्वयनमा बेवास्ता गर्नु जायज नभएको बताए । 

सरकारले अन्तर्राष्ट्रिय स्तरको राहदानी लागु गर्ने निर्णय गरेर कार्यान्वयनमा तदारुकता नदेखाउँदा जनताले समस्या भोग्नुपरेको उनको भनाइ छ । 

उनले नेपाली राहदानीको अन्तर्राष्ट्रिय र्‍याङ्किङ कमजोर बन्दै गएको भन्दै बलियो बनाउन सरकारले आवश्यक कदम चाल्नुपर्ने बताए । उनले अन्तर्राष्ट्रिय र्‍याङ्किङ २०२१ मा १०१ रहेकोमा अहिले  १०६ मा झरेको उल्लेख गरे । 

समिति बैठकमा कांग्रेस नेता विमलेन्द्र निधिले नेपाली राहदानीमा राजनीतिक व्यक्तिहरूका लागि अन्तर्राष्ट्रिय प्रणाली सुहाउँदो बनाउन आवश्यक रहेको बताए । उनले नेपाली राहदानीमा राजनीतिक गर्ने व्यक्तिहरूले सांसद वा अन्य कुनै प्रोफेसन लेख्ने प्रणाली बनाउनुपर्ने बताए । उनले नेपाली राहदानी बोकेर विदेश जाँदा सानो कुराहरूले रोकिदिने गरेको गुनासो गगरे । वर्तमान समयमा अनलाइनबाट अपडेट गरेर अन्तर्राष्ट्रिय प्रणाली सुहाँउदो बनाउन सक्ने बताउनु पर्ने उनको भनाइ छ । 

उनले वर्तमान परिस्थिति अनुसार राहदानी विभागलाई पुँजी र प्रविधिको व्यवस्था सरकारले गर्नुपर्ने बताए । 

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १६:२३
Weather Update