
काठमाडौं— नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले गरिबको छोरालाई केही नदिँदा पनि जिम्बावेमा गएर क्रिकेटमा अमेरिकालाई हराएको उदाहरण राज्यका लागि काफी हुनसक्ने बताएका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा सांसद भण्डारीले गाउँघरमा फल्ने फापर मकैको अपमान गरेर विदेशबाट कुहिएको चामल भित्राएर कस्तो संस्कार विकसित गर्दैछौँ भनेर प्रश्न पनि गरे ।
उनले भने, ‘हामीले धनी बन्ने नाममा हामीले उत्पादन गर्ने फापर मकैलाई अपमान गरेर यो हलो जोत्नेले खाने हो यो गरिबले खाने हो भनेर हामीले विदेशबाट कुहिएका चामल भित्राएका छौँ । हाम्रो जुन कुराहरू थियो, त्यो विस्थापित गर्यौँ ।
सांसद भण्डारीले नेपाली युवाहरूले अमेरिकालाई हराएर मुलुकका लागि गतिलो उदाहरण दिएको चर्चा गर्दै नेपालसँग सबै हुँदाहुँदै पनि कता लागिरहेका छौँ भनेर प्रश्न गरे ।
उनले भने, ‘के हुँदै छ हाम्रो शिक्षा । के हाम्रो शिक्षा अरू देशको कपी गर्ने हो । के हाम्रो मुलुकमा केही पनि छैन । हाम्रो मुलुकमा भएको कुरा विश्वभर ग्लोबल भिलेजमा पुर्याउने हाम्रो दायित्व होइन ? हाम्रो पाठ्यक्रममा लैजाने हैन ? आखिरमागरिबको छोरा केही नदिँदा पनि जिम्बावेमा गएर क्रिकेट खेलेर अमेरिकालाई जित्दो रहेछ नि त । त्यसैले हामीसँग सबै कुरा छ नि । त्यसैले हामीसंँग भएको सबै कुरा विश्वमा फैलाउनु पर्दैन ? कता लागिरहेका छौँ हामी ?’