
काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक महेशकुमार बर्ताैलाले विद्यालयका लेखापाल र कार्यालय सहयोगीको खरदार सरह सेवा, सुविधा पाउनुपर्ने माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।
बुधबार प्रतिनिधि सभाको दोस्रो बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले सर्वोच्च अदालतको फैसला र आफैँले विगतमा गरेको सम्झौताअनुसार पनि उनीहरूको माग सम्बोधन गर्ने काममा सरकारले ढिलाइ गर्न नहुने बताए ।
विद्यालय तहका कार्यालय सहयोगीको मासिक तलब उल्लेख गर्दै बर्तौलाले सोधे, ‘कल्पना गर्नोस्, उसका बच्चा हुन्छ । परिवार हुन्छ । ८ हजार तलबले के गर्छ ? १० हजार छ सय तलबले एउटा कर्मचारीले बालबच्चा, पठनपाठन, सामाजिक व्यवहार कसरी टार्न सक्छ ?’
सचेतक बर्ताैलाले विद्यालय तहका कर्मचारीको सो माग सम्बोधन गर्नका लागि तत्काल पहलकदमी लिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको गम्भीर ध्यानाकर्षण समेत गराए ।