काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल र चीनबीचको सम्बन्ध सगरमाथा जस्तै अग्लो रहेको बताएका छन् ।
बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टड उडान अवतरण गरिसकेपछि आयोजित कार्यक्रममा उनले भने, ‘सगरमाथा विश्व शिखर मात्रै होइन, विश्वकै अग्लो सिमाना पनि हो । यो भन्दा अग्लो सिमाना दुनियाँमा कतै छैन । तर, अनौठो कुरा यो प्राकृतिक सिमाना जति अग्लो छ, त्यो भन्दा अग्लो हामी दुई देशबीचको सम्बन्ध छ ।’
उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु गर्नु पहिलो कदम भए पनि अब यसलाई निरन्तरता दिन आवश्यक रहेको उल्लेख गरे । ‘यो सुरुवात गर्नु धेरै ठूलो कुरा हो । यो भन्दा पनि ठूलो कुरा यसलाई निरन्तर सञ्चालन गर्नु हो,’ उनले भने ।
मन्त्री किरातीले चिनियाँ नागरिक नेपाल आउँदा नेपाललाई भान्जाभान्जी आएको जस्तो लाग्ने गरेको उल्लेख गर्दै यो सम्बन्धलाई अझै विस्तार र सुदृढ बनाउनुपर्नेमा जोड दिए ।