News Griha :: न्यूजगृह
शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभा बैठक आधा घण्टाका लागि स्थगित
फाइल तस्बिर ।

काठमाडौं— सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी उपचारका क्रममा निधन भएकामा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।

स्व. सिंह नेपाली कांग्रेसका तर्फबाट विसं २०७९ को प्रदेश सभा निर्वाचनमा बझाङ निर्वाचन क्षेत्र नं १ प्रदेश सभा १ बाट सुदूरपश्चिम प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । 

लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका, ग्रामीण विकासमा उल्लेखनीय योगदान गरेका उनको मंगलबार गृह जिल्ला जाने क्रममा सवारी दुर्घटनामा परी निधन भएको थियो । ६५ वर्षीय सिंहको दुर्घटनामा परी असामयिक निधन भएकामा प्रतिनिधि सभाको बुधबारको बैठकले शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गरेको हो । 

दुर्घटनामा मन्त्री सिंहकी पत्नी र भाउजूको पनि निधन भएको थियो । रासस

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १२:३०
Weather Update