
तेगुसिगाल्पा— होन्डुरसको केन्द्रीय महिला कारागारमा दंगा भड्किँदा ४१ जना कैदीको मृत्यु भएको छ । न्यू योर्क टाइम्सका अनुसार लामो समयदेखि समस्याग्रस्त कारागार प्रणालीमा भड्किएको हिंसाको यो सबैभन्दा घातक घटना हो ।
सरकारी वकिलको कार्यालयका प्रवक्ता युरी मोराका अनुसार अधिकांश पीडित जलेका छन् भने अरूलाई गोली लागेको छ । मोराका अनुसार राजधानी तेगुसिगाल्पा नजिकैको तामारामा रहेको हिरासतमा अनुसन्धानकर्ताहरूले खोजी गर्दा मृत्यु हुनेको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । ‘यत्रो मानवीय घटनाप्रति हामी स्तब्ध छौँ,’ सुरक्षा उपमन्त्री होन्डुरन पेनटेन्शियरी सिस्टमका प्रमुख जुलिसा विलानुभाले एक पत्रकार सम्मेलनमा भनेका छन् ।
यस्तै, घटना सन् २०१९ मा पनि घटेको थियो जुन झडपमा ४० गिरोह सदस्यको मृत्यु भएको थियो । न्यू योर्क टाइम्सका अनुसार मंगलबारको घटनामा मृत्यु हुनेको सङ्ख्याले अमेरिकी देशमा नराम्रो परिदृष्य उदांगा पारेको छ ।
महिला कारागारमा हालैका वर्षहरूमा हत्या÷हिंसाका घटनाहरू बढेका छन् जहाँ दुई प्रतिद्वन्द्वी आपराधिक संगठनका महिला गिरोह सदस्यहरू बीचको भिडन्तमा थुप्रै कैदीहरूलाई घाँटी थिचिएको छ भने कसैलाई छुरा प्रहार गरिएको छ ।
राष्ट्रपति जिओमारा क्यास्ट्रोले यस घटना ‘स्तब्ध’ भएको र जिम्मेवार अधिकारीहरूलाई जवाफदेही बनाउन ‘कडा कदम’ चाल्ने बताएका छन् ।
एमएस–१३ र १८ स्ट्रिट ग्यान्गहरू लामो समयदेखि प्रतिद्वन्द्वीहरूले (जुन संयुक्त राज्यमा उत्पत्ति भएका थिए) दशकौँदेखि होन्डुरस र छिमेकी देशहरूमा हिंसा भड्काइरहेका छन् ।
ह्युमन राइट्स वाचद्वारा सन् २०२१ को होन्डुरसको प्रतिवेदन अनुसार ‘कारागारहरूमा अत्यधिक भीडभाड, अपर्याप्त पोषण, कमजोर सरसफाइ, कुटपिट, अन्तर–सामूहिक हिंसा, र बन्दी हत्याहरू चरम अवस्थामा छन् ।’
न्यू योर्क टाइम्सका अनुसार एक सरकारी अधिकारीका अनुसार होन्डुरसको नेशनल वुमेन्स पेनिटेन्शियरी फर सोशल एडप्टेसनले लगभग ८०० कैदीहरूलाई राखिएको छ । यो सङ्ख्या क्षमताभन्दा लगभग दोब्बर हो।
मानव अधिकारसम्बन्धी अन्तर–अमेरिकी आयोगले सन् २०२० मा होन्डुरन जेलहरूमा ‘थुप्रै हिंसात्मक घटनाहरू’ घटेको देखाएको छ । रासस