
काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले उच्चशिक्षामा योगको अभ्यास र साधनाले पर्याप्त स्थान नपाएको टिप्पणी गरेका छन् ।
बुधबार अन्तर्राष्ट्रिय योग दिवस २०२३ को सन्दर्भमा कमलादीमा आयोजित कार्यक्रममा शिक्षामन्त्री राईले नेपालमा योग अभ्यासको लामो परम्परा भएता पनि वर्तमान समयमा विद्यालय शिक्षा, व्यवसायिक तालिम र उच्चशिक्षामा योगको अभ्यास र साधनाले पर्याप्त स्थान नपाएको बताएका हुन् ।
उनले भने, ‘नेपाल योगको उत्गम भूमि हो । नेपालमा योग अभ्यासको लामो परम्परा छ । तापनि वर्तमान समयमा विद्यालय शिक्षा प्राविधिक शिक्षा र व्यवसायिक तालिम र उच्चशिक्षामा योगको अभ्यास, शिक्षा र साधनाले पर्याप्त स्थान नपाएको महसुुस भएको छ ।’
शिक्षामन्त्री राईले मन्त्रालय योगमाया आयुर्वेद विश्वविद्यालय सम्बन्धी विकासमा लागिपरेको बताउँदै भने, ‘योगलाई आधुनिक शिक्षाको एउटा अंगको रूपमा बनाउनुपर्दछ भन्ने मलाई लाग्दछ । योगमाया आयुर्वेद विश्वविद्यालयसम्बन्धी ऐन पारित भइसकेपछि मन्त्रालय यस विश्वविद्यालय विकासमा लागिपरेको छ ।’