
काठमाडौं— प्रधानमन्त्री पुष्पकमलदाहाल प्रचण्डले नेपालमा योग पर्यटनको विकास गर्न सकिने बताएका छन् ।
अन्तर्राष्ट्रिय योग दिवस २०२३ को सन्दर्भमा कमलादीमा आयोजित कार्यक्रममा उनले योग सम्बन्धी नेपालले गरिरहेको अभ्यासको विश्वव्यापीकरणमा पर्याप्त ध्यान दिएमा योग पर्यटनको विकास गर्न सकिने बताएका हुन् ।
उनले भने, ‘अन्तर्राष्ट्रिय योग दिवस मनाइरहँदा योगसम्बन्धी नेपालले गरिरहेको अभ्यासको विश्वव्यापीकरणमा हामीले पर्याप्त ध्यान दिनुपर्दछ र व्यवस्थित ढंगले काम गर्नुपर्दछ । यसबाट नेपालमा योग पर्यटनको विकास गर्न सकिन्छ ।’
उनले योग नेपालकै अमूल्य निधि भएको बताएको टिप्पणी गरे । योगसम्बन्धी ज्ञान–विज्ञानको अध्ययन गरिरहेका अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने उनको भनाइ छ ।
उनले भने, ‘योग नेपालकै अमूल्य निधि पनि हो । प्राकृतिक वातावरणको हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासका लागि एउटा सुन्दर भूमि हो र यो देश योगसम्बन्धी ज्ञान–विज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्न सक्छ ।’
उनले योगमा याआयुर्वेद विश्वविद्यालयले विश्वस्तरीय विश्वविद्यालयको रूपमा आफूलाई स्थापित गर्दै प्राज्ञिक नेतृत्व गर्नुपर्ने तर्क गरे ।