News Griha :: न्यूजगृह
योग र ध्यानको विषय प्राथमिक तहदेखि नै पाठ्यक्रममा समावेश हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले योग र ध्यानको विषयलाई प्राथमिक तहदेखि नै विद्यालय र विश्वविद्यालयसम्म पाठ्यक्रममा समावेश गर्ने उद्देश्य राखेको बताएका छन् । 

बुधबार अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले योग र ध्यानको महत्व, परम्परा र विरासतलाई आत्मसाथ गरेर नै सरकारले यस्तो निर्णय लिएको बताए । 

उनले यो निर्णयले आध्यात्मिक चिन्तनको महत्वलाई स्थापित गर्न गुणात्मक र दीर्घकालीन भूमिका खेल्ने विश्वास व्यक्त गरे । 

उनले नेपालका पुराना शहर र भवनको निर्माणमा पनि योगको ज्ञान, विज्ञान एवं वास्तु इन्जिनियरिङको प्रयोग भएको पाइने बताए ।

प्राकृतिक वातावरणको हिसाबले पनि नेपाल संसारभरका मानिसका लागि योग अभ्यासका लागि एउटा सुन्दर भूमि रहेको उनको भनाइ छ ।  उनले नेपाल योग सम्बन्धी ज्ञान विज्ञानको अध्ययन गरिरहेका विश्वभरका अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्नसक्ने प्रचुर सम्भावना रहेको बताए । 

प्रधानमन्त्री प्रचण्डले योगमाया आयुर्वेद विश्वविद्यालयले भविष्यमा विश्वस्तरीय विश्वविद्यालयका रूपमा आफूलाई स्थापित गर्दै यस क्षेत्रमा प्राज्ञिक नेतृत्व गर्ने विश्वास व्यक्त गरे । 

उनले योग शारीरिक अभ्यासमात्रै नभइ निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली र जीवनपद्धति भएको बताए । 
 

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १०:२६
Weather Update