News Griha :: न्यूजगृह
सोमबारसम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : माओवादी केन्द्र 

काठमाडौं— सत्तारुढ नेकपा माओवादी केन्द्रले पर्सी सोमबारसम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार अपरान्ह बसेको पदाधिकारी बैठकले मन्त्रिपरिषद्ले पूर्णता पाउने निर्णय गरेको हो ।

पर्सीसम्ममा मन्त्रिपरिषद्लाई विस्तार गरी डेलिभरीका कामहरूलाई तीव्रता दिने निर्णय पार्टी पदाधिकारी बैठकले गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

बैठकले संसद्लाई गतिशील र प्रभावकारी ढंगले अघि बढाउने विषयमा पनि सत्तारुढ दलहरुबीच छलफल गर्ने निर्णय गरेको छ ।

त्यसैगरी संघीय सरकारको नीति तथा कार्यक्रमसँग जोडेर प्रदेश सरकारलाई पनि गतिशील बनाउनुपर्नेमा नेताहरुले जोड दिएको सचिव पौडेलको भनाइ छ ।

‘संसद्लाई प्रभावकारी बनाउने विषयमा गठबन्धनमा रहेका पार्टीहरूसँग छलफल गर्ने निर्णय भएको छ । पर्सीसम्म क्याविनेटको विस्तार गर्ने निर्णय भएको छ । सरकार र पार्टीलाई कसरी जोड्ने भन्नेमा पनि बैठकमा कुरा भयो,’ उनले भने ।

बैठकमा नेताहरूले पार्टी र सरकारका कामका विषयमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १८:१२
Weather Update