News Griha :: न्यूजगृह
पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान हुँदै, आउँदैछ चिनियाँ विमान
फाइल तस्बिर ।

गण्डकी— पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक बुधबार अन्तर्राष्ट्रिय उडान हुने भएको छ । छिमेकी मुलुक चीनको छेन्दु–तियान्फु विमानस्थलबाट सिचुवान एअरलायन्सले पोखरामा सिधा चार्टर उडान गर्न लागेको हो ।

सिचुवान एअरलायन्सको एअरबस ए–३१९ जहाज बुधबार बिहान साढे ९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने विमानस्थलका सूचना अधिकारी विष्णु अधिकारीले जानकारी दिए । ‘उडानको सबै तयार पूरा भइसकेको छ, यात्रुहरूको स्वागतका लागि संक्षिप्त कार्यक्रम राखिएको छ,’ उनले भने । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसहितले पहिलो अन्तर्राष्ट्रिय उडानबाट पोखरा ओर्लने यात्रुलाई स्वागत गर्ने कार्यक्रम तय गरिएको हो । उक्त जहाजबाट हाल चीन भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको नेपाली टोली र आगामी शुक्रबार र शनिबार पोखरास्थित फेवातालमा हुन लागेको ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन वोट फेस्टिभल’ मा सहभागी हुने चिनियाँ खेलाडी तथा पर्यटक पोखरा आउँदै छन् ।  

जहाजबाट एक सय ३५ जना यात्रु पोखरा ओर्लने विमानस्थलका सूचना अधिकारी अधिकारीले बताए । उक्त जहाज बुधबार नै पोखराबाट काठमाडौं अवतरण भइ नियमित उडानमार्फत छेन्दु फर्कनेछ । पोखरामा उक्त जहाजको अर्को उडानबारे जानकारी आइनसकेको विमानस्थलले जनाएको छ । अंग्रेजी नयाँ वर्ष पारेर गत पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । उक्त विमानस्थलबाट हाल आन्तरिक उडान मात्रै हुँदै आएको छ । रासस

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  २१:४८
Weather Update