News Griha :: न्यूजगृह
रुसमा बारुद कारखानामा विस्फोट, चार जनाको मृत्यु

काठमाडौं— रुसको एक बारुद कारखानामा मंगलबार भएको विस्फोटनमा परी चार जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका अधिकारीहरूले बताएका छन् ।

मस्कोको दक्षिणपूर्वमा रहेको टाम्बोभ क्षेत्रमा रहेको बारुद कारखानाले एक विज्ञप्ति जारी गर्दै एक ठेकेदारसहित समान जोड्ने काम भइरहेका समय विस्फोट भएको जनाएको छ ।

‘कारखानामा भएको अप्रत्यासित विस्फोटमा परी कम्तीमा १२ जना घाइते भएका छन् र तीमध्ये चारजनाको मृत्यु भएको छ,’ रुसी सञ्चारमाध्यमबाट सार्वजनिक भएको कारखानाको विज्ञप्तिमा भनिएको छ । मृत्यु हुनेमा अधिकांश ठेकेदार कम्पनीका कर्मचारी रहेका छन् ।

बारुद कारखानाले विस्फोटको कारणबारे अनुसन्धान गरिरहेको र घटनामा मानवीय सम्लग्नता रहेको हुनसक्ने बताएको छ ।

ताम्बोभका गभर्नर म्याक्सिम येगोरोभले घटनामा ‘आतङ्ककारी’ को सम्लग्नता हुन सक्ने सम्भावनालाई अस्वीकार गरेका छन् । 

ठूला अपराधको छानबिन गर्ने रुसी सरकारी छानबिन समितिले सुरक्षा नियम उल्लंघनको अनुसन्धान सुरु गरेको जनाएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २०२२ मा युक्रेनमा सेना पठाएपछि मस्को उच्च सतर्कतामा रहेको छ । यद्यपि, यो अवधिमा रुसी भूभाग भित्ररहेका प्रतिष्ठानहरूमा थुप्रै ड्रोन आक्रमण भएका छन् ।

युक्रेनमा आक्रमण सुरु भएदेखि नै रुसमा सैन्य कारखानाहरू पनि पूर्ण रूपमा सञ्चालन भइरहेका छन् । रासस

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  २१:२१
Weather Update