News Griha :: न्यूजगृह
काठमाडौंका ३९ निजी विद्यालयलाई १ लाखसम्म जरिबाना, छात्रवृत्ति विवरण नबुझाए स्वीकृति रद्द गरिने

काठमाडौं— काठमाडौं महानगरपालिकाले छात्रवृत्तिको विवरण नबुझाउने ३९ निजी विद्यालयलाई एक लाख रुपैयाँसम्म जरिबाना तिराउने भएको छ । 

मंगलबार सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति जारी गर्दै काठमाडौंका मेयर बालेन शाहले हालसम्म विवरण नपठाएका विद्यालयहरूलाई एक लाख रुपैयाँसम्म जरिबाना तिराएर थप एकपटक मौका दिने उल्लेख गरेका छन् । ‘त्यसपश्चात् पनि विवरण नबुझाएमा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५७ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्नेगरी कारबाही गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ । 

काठमाडौं महानगर क्षेत्रभित्र भएका ५०४ निजी विद्यालयमध्ये ४६५ ले छात्रवृत्ति विवरण बुझाएका छन् । महानगरको इतिहासमा यो पहिलो पटक भएको र यसबाट लक्षित वर्गका १३००० भन्दा बढी विद्यार्थीहरूले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेको मेयर बालेनले जानकारी दिएका छन् । उनका अनुसार प्राप्त विवरणमाथि निरीक्षण गरी सो सूची प्रकाशित गरिनेछ । 

‘विद्यमान कानुनी प्रबन्ध कार्यान्वयन गर्दा यी १३ हजार विद्यार्थी भाइबहिनीले छात्रवृत्ति पाएका हुन् । कानुन निर्माणको महत्व कार्यान्वयनबाट मात्र पुष्टि हुन्छ । त्यसैले, हामी कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर छौँ,’ मेयर बालेनले विज्ञप्तिमा उल्लेख गरेका छन् । 

<

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १९:५८
Weather Update