News Griha :: न्यूजगृह
‘उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता गर्नु निन्दनीय’ 
फाइल तस्बिर ।

काठमाडौं— त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेले २०८० असार ४ गतेदेखि सुरु गरेको अनशनप्रति मानव अधिकार तथा शान्ति समाजको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

‘तीन वर्षअघि उपप्राध्यापक चलाउनेमाथि सांघातिक आक्रमण भएपश्चात् सोही सम्बन्धमा काठमाडौं जिल्ला अदालतमा ज्यान मार्ने उद्योगको मुद्दा विचाराधीन रहेकै अवस्थामा सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेको र सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा फिर्ताको निवेदन दर्ता गरेपछि उपप्राध्यापक चलाउनेले न्यायका लागि अनशन थाल्नुभएको जानकारी प्राप्त भएको छ,’ समाजद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ । 

अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने सरकारी निर्णयको शान्ति समाजले निन्दा गर्दै कानुनी शासनको उपहास गर्दै सरकारले गरेको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ । विगत केही समयदेखि प्राज्ञिक निकाय/व्यक्तिमाथि आक्रमण गर्ने, कालोमोसो दल्नेजस्ता घटना घटिरहेकोप्रति शान्ति समाजले गम्भीर चिन्ता व्यक्त गरेको छ । रासस

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १८:३७
Weather Update