
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेवार जातिको अध्ययन तथा अनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने घोषणा गरेका छन् ।
विश्व नेवार दिवसको अवसर पारेर शनिबार काठमाडौंको बसन्तपुरमा आयोजित एक कार्यक्रममा उनले नेपालको सभ्यता, संस्कृति, इतिहास, भाषा, कला र साहित्यका निम्ति नेवारहरुले गरेको अनवरत संघर्षको उच्च सम्मान गर्दै आफूले सो जातिको अध्ययन/अनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने तयारी गरेको बताए ।
उनले नेवार समूदायका लागि खोलिने सो प्रतिष्ठान सिंगो नेपालकै लागि हुने पनि स्पष्ट पारे। भने, ‘पहिलो चोटी प्रधानमन्त्री भएपछि नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिलाउनका लागि यही बसन्तुपुर डबलीबाट घोषणा गरेको थिए । र, नेवारहरुको सभ्यता, इतिहास र संस्कृतिको अनुसन्धान गर्न एउटा अनुसन्धान समिति वा अनुसन्धान प्रतिष्ठान बनाउन जरुरी छ भन्ने सुझाव यहाँ आएको छ । यसमा मेरो ध्यान गम्भिर रुपले आकर्षित भएको छ । नेपालको सभ्यता, संस्कृति र इतिहास, भाषा, साहित्य र कलाको निम्ति नेवारहरुले गरेको अनवरत संघर्षप्रति मेरो उच्च सम्मान रहेको छ । त्यसकारण म एउटा कुनै अध्ययन प्रतिष्ठान बनाउने कुरामा तपाईहरुको अगाडि प्रतिवद्धता व्यक्त गर्दछु । र, त्यो नेवारको मात्रै हुनेछैन । त्यो नेपालीहरुकै हुनेछ भन्ने विश्वास पनि म व्यक्त गर्न चाहन्छु । विश्वमै नगर सभ्यता सुरु गर्ने अग्रज समुदायमध्ये नेवार समुदाय पनि पर्दछ । यो हामी सबैका लागि गर्वको विषय हो ।’













