News Griha :: न्यूजगृह
विद्यालय कर्मचारी र सरकारबीच वार्ता : चार सदस्यीय कार्यदल गठन

काठमाडौं— आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषद्ले उठाएका माग सम्बोधन गर्नका लागि सरकारले वार्ता टोलीबाट कार्यदल गठन गरेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि शर्माको संयोजकत्वमा वार्ता टोली बनाएको सरकारले वार्ता टोलीबाटै चार सदस्यीय कार्यदल गठन गरेको हो । उक्त कार्यदलले विद्यालय कर्मचारीले उठाएका मागका विषयमा अध्ययन गरी वार्ता टोलीलाई सिफारिस गर्नेछ ।

विद्यालय कर्मचारीले आन्दोलन तीव्र बनाउँदै लगेपछि सरकारले वार्तामा बोलाएको थियो । असार ३ गते आइतबार विद्यालय कर्मचारी परिषद् र सरकारबीच प्रारम्भिक छलफल भएको थियो ।

एक जना विद्यालय कर्मचारीले आइतबारको वार्ता सकारात्मक बनेको बताउँदै माग सम्बोधन हुनेमा आशावादी हुन सकिने बताए ।

सरकारले विभिन्न समयमा सेवासुविधा, तलब, दरबन्दीलगायतका विषयमा गरेको सहमति कार्यान्वयन गर्नुपर्ने बताउँदै विद्यालय कर्मचारी १७औं दिनदेखि काठमाडौंमा आन्दोलित छन् ।

आन्दोलनअन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएका उनीहरुले रिले अनशन सुरु गरेको पनि १०औं दिन भइसक्यो । विगतमा जस्तै यसपटक पनि सरकारले ढाँटछल गरी माग सही ढंगले सम्बोधन नगरे आन्दोलन आक्रामक हुने विद्यालय कर्मचारीले बताएका छन् ।

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १८:२३
Weather Update