
काठमाडौं— सत्तारूढ नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले बैंकको ब्याजदर तत्काल घटाउन सरकारसँग माग गरेका छन् ।
मुलुकको अर्थतन्त्रलाई राम्रो अवस्थामा ल्याउन पनि बैंक ब्याजदर तत्काल घटाउनुपर्ने उनको तर्क छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा शहरी विकास मन्त्रालय, अर्थ मन्त्रालय, खानेपानी मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै प्रमुख सचेतक चौधरीले बैंक ब्याजदर घटाउने र कर्जा प्रवाह बढाउने काममा अर्थमन्त्री डा. प्रकाशशरण महत गम्भीर नभए मुलुकको आर्थिक अवस्थामा सुधार आउनै नसक्ने दाबी समेत गरे ।
‘यसमा माननीय अर्थमन्त्रीज्यू तपाईं सिरिअस हुनुस् । यदि तपाईंले बैंक ब्याजदर घटाउन सक्नुभएन भने नेपालको फाइनान्सियल सेक्टरलाई हराभरा बनाउनै सक्नु हुन्न । त्यसैले बैंक ब्याजदर घटाउनुस्,’ उनले भने ।
प्रमुख सचेतक चौधरीले युवाहरुलाई दक्ष बनाएर मात्रै वैदेशिक रोजगारमा पठाउन पनि सरकारको ध्यानाकर्षण गराए ।