News Griha :: न्यूजगृह
ठुल्ठुला भ्युटावरको आवश्कता छैन : कांग्रेस सांसद कार्की
फाइल तस्बिर ।

काठमाडौं— सत्तारूढ नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकका लागि ठुल्ठुला भ्युटावर र सिटी हलको आवश्यकता नभएको बताएका छन् । 

मंगलबार प्रतिनिधि सभा बैठकमा शहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले भने, ‘अहिले भ्युटावरका, ठुल्ठुला सिटी हलको अहिले आवश्यकता छैन ।’

उनले गाउँलाई शहर बनाउने नभइ सुविधासम्पन्न र व्यवस्थित गर्ने दिशामा ध्यान दिन शहरी विकास मन्त्रालयलाई आग्रह गरे । 

सांसद कार्कीले देशको कुनै एउटा ठाउँमा भएपनि ऐतिहासिक हरित र सांस्कृतिक शसहर निर्माण गर्ने काममा ध्यान दिन सरकारलाई सुझाव दिए । 

उनले आवास कार्यक्रमलाई झारा टार्ने ढंगले अघि नबढाउन पनि सरकारलाई सचेत गराए । ‘अहिलेको ध्यान दलित, विपन्न र सीमान्तकृत नागरिकलाई आवास केवल बजेटमा उल्लेख गर्ने जस्तो झारा टार्ने आवास होइन,’ उनले भने । 

सांसद कार्कीले स्वच्छ खानेपानी पाउने नागरिकको अधिकारलाई सुनिश्चित गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए । 
 

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १७:३०
Weather Update