बझाङ दुर्घटना अपडेट : मन्त्री सिंहकी पत्नीसहित दुई महिलाको मृत्यु

काठमाडौं— बझाङमा मंगलबार जीप दुर्घटना हुँदा सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री पृथ्वीबहादुर सिंहकी पत्नीसहित दुई महिलाको मृत्यु भएको छ ।
मन्त्री सिंहकी पत्नी अमृता सिंह र उनका आफन्त जयादेवी सिंहको बझाङमै उपचारको क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) श्याम चौधरीले जानकारी दिए ।
दुर्घटनामा घाइते मन्त्री सिंह, उनका अंगरक्षक र चालकलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट कोहलपुर मेडिकल कलेजमा पठाइएको एसपी चौधरीले बताए । मन्त्री सिंहसँगै जीप चालक धर्मराज जोशी र प्रहरी सहायक हवल्दार दीपक भण्डारीलाई उपचारका लागि नेपालगन्ज लगिएको हो ।
डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको मन्त्री सिंह सवार सुपप्र ००१ झ ४८० नम्बरको जीप केदारस्यूँ गाउँपालिकाको बागथलामा दुर्घटनामा परेको हो ।
प्रकाशित मिति: मंगलबार, असार ५, २०८० १६:४२