
काठमाडौं— नेकपा एमालेका सांसद गोकुल बास्कोटाले पनौतीका नभएको वडामा बजेट खन्याएर अर्थमन्त्रीले के गर्न खोजेको हो भन्ने आफूले बुझ्न नसकेको बताएका छन् ।
मंगलबार शहरी विकास मन्त्रालयको मन्त्रालयगत बजेटमाथि संसद्मा भएको छलफलमा सांसद बास्कोटाले काभ्रेमा नभएका गाउँपालिकालाई पनि बजेट छुट्याएर उदेक लाग्ने काम गरेको बताए ।
‘कसैले चुरोटको बट्टाको चिर्कटोमा लेखेर कसैले दियो । अर्थमन्त्रालयले दिएअनुसार ठाउँ न ठहर त्यहाँ राखिदियो । बुझ न सुझ राख्दियो,’ उनले भने, ‘म तपाईंलाई सोध्छु, यही पनि छ । पनौती नगरपालिकामा १२ वटा वडा छन् । जुन जिल्लाबाट म प्रतिनिधित्व गर्छु । १३ नम्बर वडा कहाँ पर्छ ? मलाई थाहा छैन अर्थमन्त्रीज्यू । शहरी विकास मन्त्री ज्यू । १४ नम्बर वडा कहाँ पर्छ ? १५ नम्बर वडा कहाँ पर्छ ? कसले दियो त्यो चिर्कटो ? मैले भन्नै पर्ने भो । प्रकाश सपूतलाई सम्झिएर सोध्नुपर्ने भयो, यो आँखै खाने चश्मा तिम्लाई कसले किन्दियो ?’
सांसद बास्कोटाले नगरकोट हिगुवा पाटी सडक कालोपत्रे गर्न ठिक्क परेको बेला अहिले १० लाख रुपैयाँ मात्र बजेट छुट्याएको भन्दै असन्तुष्टि जनाए । आफ्नो रिसकै कारण बजेट काटिएको भए कांग्रेस, माओवादी वा अरू हिँड्न अर्को बाटो बनाउँँछ भनेर बास्कोटाले प्रश्न पनि गरे ।
‘मैले ब्रिफकेस फुटाएको देखेको थिएँ यही सदनमा । म चेतावनीको भाषामा विनम्रतापूर्वक भन्न चाहन्छु, मैले कालो झण्डा लिएर उभिनु नपरोस् । सभामुख महोदय,’ उनले भने ।