
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बदलिएको राजनीतिक व्यवस्था अनुरुप जनताको अवस्था बदल्न सरकार दृढ संकल्पित रहेको बताएका छन् ।
लायन्स क्लव अफ इन्टरनेशनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकमा विद्यमान समस्याहरुको समाधानका लागि सरकारलाई साथ दिन निजी क्षेत्र, सामाजिक संघ, संस्था र नागरिक अगुवाहरुलाई समेत आग्रह गरे ।
मुलुकमा विद्यमान निराशालाई चिर्दै अघि बढने काममा सरकार लागि परेको उल्लेख गर्दे प्रधानमन्त्री दाहालले त्यस काममा लायन्स जस्ता सामाजिक संघ, संस्थाहरुको भूमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गरे ।
उनले भने, ‘वर्तमान सरकार राज्य, निजी क्षेत्र, सामाजिक संस्था र नागरिक आन्दोलनको सहकार्यको आधारमा देशमा विद्यमान आर्थिक, राजनीतिक चुनौतिहरु छिचोल्दै सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न संकल्प गर्दछ । मैले संकल्प गरेको छु कि तेस्रो मेरो कार्यकाललाई चुनौतिपूर्ण अवसरको रुपमा लिएको छु । तसर्थ, यस कार्यकालमा बदलिएको राजनीतिक व्यवस्था अनुरुप जनताको अवस्था बदल्नु, निराशालाई चिर्दै देशमा आशाको रक्त सञ्चार सृजना गर्नु, राष्ट्रिय सहमती र सहकार्यका आधारमा चुनौतिहरुलाई अवसरमा बदल्नु मेरो दृढ संकल्प रहेको छ । सरकारको यस संकल्पमा समेत यहाँहरुको सकारात्मक सहयोग रहनेछ भन्ने मैले विश्वास लिएको छु ।’













