
नयाँ दिल्ली— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो राजकीय भ्रमणका लागि मंगलबार संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् ।
अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ट्वीटमा लेखेका छन्,‘अमेरिका प्रस्थान गर्दैछु जहाँ म न्यूयोर्क शहर र वाशिङ्गटन डीसीमा हुने कार्यक्रमहरूमा सहभागी हुनेछु । ती कार्यक्रमहरूमा योग दिवस मनाउने, राष्ट्रपति बाइडेनसँग वार्ता गर्ने लगायातका छन् ।’
प्रधानमन्त्री मोदीलाई अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले भ्रमणको निमन्त्रणा दिएका थिए ।
भ्रमण न्युयोर्कबाट सुरु हुनेछ जहाँ प्रधानमन्त्रीले जुन २१ मा संयुक्त राष्ट्रसंघ मुख्यालयमा अन्तर्राष्ट्रिय योग दिवस मनाउने कार्यक्रमको नेतृत्व गर्नेछन् ।
त्यसपछि प्रधानमन्त्री मोदी वाशिङ्गटन डीसी प्रस्थान गर्नेछन् । त्यहाँ उनले जुन २२ मा ह्वाइट हाउसमा राष्ट्रपति बाइडेनलाई भेट्नेछन् ।
राष्ट्रपति बाइडेन र प्रथम महिला जिल बाइडेनले सोही दिन साँझ प्रधानमन्त्रीको सम्मानमा रात्री भोजको आयोजना गर्नेछन् ।
प्रधानमन्त्री मोदीले जुन २२ मा अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।