1687253965.png)
काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादीबीच कुनै फरक नभएको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष लिङ्देनले देशको बर्बादीमा कांग्रेस, एमाले र माओवादीका नेताहरू मात्र नभइ उनीहरूले ल्याएको व्यवस्था पनि जिम्मेवार भएको बताए ।
उनले भने ‘यो देशमा कांग्रेस, एमाले र माओवादी असफल भएर केही हुँदैन । उनीहरु जुन राजनीतिक आदर्शका साथ छन् अथवा राजनीतिक मुद्दालाई आदर्श मानेर हिँडिरहेका छन् । आवरणमा फरक फरक भए पनि मूलमा उनीहरु एउटै छन्। यो देश बर्बाद हुनुमा अहिलेको नेताहरू मात्र जिम्मेवार छैनन् की उनीहरूले ल्याएको व्यवस्था पनि जिम्मेवार छ । यसमा नेतृत्व मात्र हैन व्यवस्था पनि परिवर्तन गर्न जरुरी छ ।’
अध्यक्ष लिङ्देनले यो देशका लागि संघीयता, गणतन्त्र र धर्म निरपेक्षता उपयुक्त नभएको दोहोर्याउँदै यही व्यवस्था र अवस्था कायम रहे नेपालको र नेपाली जनताको प्रगति सम्भव नभएको बताए ।
उनले भने, ‘कांग्रेस, एमाले र माओवादीहरू यही व्यवस्थालाई सुधार गरेर यसैबाट हामी अगाडि बढ्न सक्छौँ भन्नेमा छन् । यही अवस्थाले उन्नति प्रगति हुन्छ भन्ने पक्षमा छन् । त्यसैले उनीहरु एउटा दल असफल भएर केही हुँदैन अर्को दलले त्यो मान्यतालाई अगाडि बोकेर जान्छ । गणतन्त्र धर्म निरपेक्षता संघीयता जस्ता मुद्दाहरूमा हामी बाहेक सबै राजनीतिक दलहरू जेठोदेखि कान्छोसम्म एकै ठाउँमा छन् । उनीहरु एउटा असफल भयो भन्दैमा त्यो मुद्दा असफल भयो भन्न मिल्दैन । तर त्यो संघीयता गणतन्त्र धर्म निरपेक्षता उपयुक्त छैन् । यसमा परिवर्तन नगरीकन नेपाली जनताको र नेपालको प्रगति सम्भव छैन ।’