News Griha :: न्यूजगृह

काठमाडौं— त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध जिल्ला अदालत काठमाडौं बाहिर प्रदर्शन भएको छ ।

बृहत् नागरिक आन्दोलनको ब्यानरमा भएको प्रदर्शनमा सहभागीहरुले ‘विश्वविद्यालयमा हुने अपराधीकरणको अन्त्य गरौं’, ‘न्याय हराए कहाँ जाने ?’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका  थिए ।

प्रदर्शनमा सहभागी उपप्राध्यापक चलाउनेले आफूले न्याय नपाए अदालप्रतिको आम जनताको भरोसा टुट्ने बताए । उनले भने,‘विचाराधीन मुद्दालाई अदालतबाटै निर्णय हुन दिनुपर्थ्याे । यो त शक्तिको आडमा सीधासीधा मुद्दा फिर्ता लिएर अप्रत्यक्ष रुपमा अदालतमाथि हस्तक्षेप गरेको हो । सरकारले यो मुद्दा तुरुन्तै फिर्ता लिनुपर्छ । मलाई न्याय दिनुपर्छ । मैले न्याय पाइन भने अदालतप्रतिको भरोसा टुट्छ ।’

उपप्राध्यापक प्रेम चलाउनेमाथि २०७७ साल असोज २० गते आक्रमण भएको थियो । उनीमाथि आक्रमण गरेको अभियोगमा नेविसंघका हरि आचार्य, योगेन्द्र रावल लगायतविरुद्ध दायर भएको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ ।

सरकारले यही मुद्दा फिर्ता लिने निर्णय गरेपछि चलाउनेले सोमबारदेखि अनशन सुरु गरेका छन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १४:२९
Weather Update