
कञ्चनपुर— कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका चेतराज चौधरीले गत वर्ष यस समयमा रोपाइँ सुरु गरिसकेका थिए । रोपाइँमा व्यस्त हुने यस समयमा अहिले उनी फुर्सदिला छन् ।
वर्षा नहुँदा अहिलेसम्म रोपाइँ सुरु गर्न नसकेको उनी बताउँछन् । ‘गत वर्ष असार १ गतेदेखि नै रोपाइँ थाले, यसपटक पानी नै नपरेर खडेरी भएकाले रोपाइँ गर्न सकिएको छैन’, किसान चौधरीले भने,‘सिँचाइको सुविधा नहुँदा आकाशको पानीको भरमा खेतीपाती गर्नुपर्छ ।’
उनी तीन बिघा जमिनमा धानखेती गर्छन् । बेदकोट नगरपालिका–४ का केशव बोहराको रोपाइँका लागि धानको ब्याड तयार भएको छ । तयार भएको ब्याड खडेरीले सुक्न थालेपछि उनी चिन्तित छन् ।
भीमदत्त नगरपालिका–११ भुजेलाका राजेश जोशी रोपाइँका लागि आकाशको पानीको पर्खाइमा छन् । सुक्खा खडेरीका कारण धान रोपाइँमा ढिलाइ भएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकरी हरि जोशीले बताए ।