
काठमाडौं— अविरल वर्षाका कारण कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा लगायतका जिल्लामा बाढीपहिराको कारण जनजीवन प्रभावित भइरहेको प्रभावित इलाकामा नेपाली सेनाले खोज तथा उद्धार कार्य जारी राखेको छ ।
उद्धार टोली परिचालन भएको र सेनाको टोलीले पाँचथर जिल्ला, याङवरक गाउँपालिका–१ स्थित खोलाघारी गाउँबाट पहिरामा फसेका १० जना स्थानीयवासीलाई उद्धार गरी सेनाको हेलिकोप्टरद्वारा सकुशल विष्णु मावि च्याङथापुमा ल्याइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यस्तै पाँचथर जिल्ला, फिदिम नगरपालिका–४ र हिलिहाङ्ग गाउँपालिक–५ को बीचमा पर्ने माझीटार इलाकामा हेवाखोला र तमोर नदीको किनार, हेवाखोला किनार र माउन्टेन बी हाइड्रो इलाकामा नेपाली सेना सहितको टोलीले खोज तथा उद्धार कार्य जारी रहेको जनाएको छ ।
यसका साथै माझीटार बस्तीका बासिन्दाको खाद्यान्न, लत्ताकपडा, भाँडा वर्तन, फर्निचरका सामानहरुलगायत अन्य विविध सामानहरु सुरक्षित स्थानमा स्थानान्तरण गरेको सेनाले जानकारी गराएको छ ।
सङ्खुवासभा जिल्लास्थित हेवाखोलामा आएको बाढीका कारण चैनपुर नगरपालिका–४ दोभानेबाट ६७ किमी उत्तर पूर्वमा रहेको सुपर हेवाखोला हाइड्रोपावरको मजदुर बस्ने क्याम्प तथा हाइड्रोपावरमा क्षति पुर्याउनका साथै हाइड्रोपावरमा काम गर्ने कामदारमध्ये तीन घाइतेलाई नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी बेपत्ता भएका २१ कामदारहरुको खोजी जारी रहेको निर्देशनालयले जनाएको छ ।
खोजतलासका क्रममा धनकुटाको तेलिया भन्ने स्थानमा भेटिएको शव शवपरीक्षणका लागि जिल्ला अस्पताल धनकुटा पठाइएको छ ।