News Griha :: न्यूजगृह
समाजवादी मोर्चा राजनीतिक परिवर्तनकाविरुद्ध लाग्नेहरूका निम्ति युद्धको घोषणा हो : प्रचण्ड

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा राजनीतिक परिवर्तनकाविरुद्ध लाग्नेहरूका निम्ति युद्धको घोषणा भएको बताएका छन् ।

सोमबार समाजवादी मोर्चा,नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले मोर्चा घोषणा राजनीतिक परिवर्तनकाविरुद्ध लाग्नेहरूका लागि युद्धको घोषणा भएको बताएका हुन् । उनले परिवर्तनलाई होच्याउने, अपमानित गर्ने अराजक र प्रतिगामी प्रवृत्तिका मान्छेहरूले टाउको उठाउन खोजेका भन्दै समाजवादी मोर्चा तिनीहरूविरुद्धको युद्ध भएको बताए ।

उनले भने,‘कोही पनि अग्रगमनको पक्ष, प्रगतिशील पक्ष, वामपन्थी पक्ष, संघीय गणतन्त्रका पक्षधर हामी यो मोर्चाबाट विल्कुल डराउनुपर्ने आवश्यकता छैन बरु आउनुहोस् हात मिलाऊ । र,यो देशलाई नयाँ बनाउने संकल्पका साथ अगाडि बढौँ । हामी परिवर्तनका पक्षधर विभिन्न संघर्ष र बलिदानबाट गुज्रिएका पार्टी र नेताहरूलाई, विचार र प्रवृत्तिलाई बदनाम गर्ने र यो परिवर्तन जो हजारौँ शहीदहरु र बेपत्ताहरु, क्रान्तिकारीहरुको त्याग, तपस्या र बलिदानबाट आएको परिवर्तनलाई होच्याउने, अपमानित गर्ने, ह्युमुलेट गर्न खोज्ने अराजक र प्रतिगामी प्रवृत्तिका केही मान्छेहरुले टाउको उठाउन खोजेकै छन् । के कुरा साँचो हो भने यो मोर्चा तिनकाविरुद्ध युद्धको घोषणा भने पक्कै पनि हो । यो मोर्चा सबैसँग बराबरीवाला मोर्चा होइन ।’

प्रधानमन्त्री दाहालले नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व गरेका नेत्रविक्रम चन्द मोर्चामा सामेल हुनु गुणात्मक र क्रान्तिकारी महत्त्व भएको बताए । उनले विप्लव समाजवादी मोर्चामा सामेल हुँदा संसदीय राजनीतिमा सामेल भएका आफूहरूमा लागेको धुलोमैलो सफा गर्न मद्दत पुग्ने बताए ।

उनले भने, ‘एउटा राम्रो पक्ष के भएको छ भने कमरेड विप्लवले नेतृत्व गरेको नेकपा पनि यो मोर्चामा सामेल भएको छ र यसको गुणात्मक र क्रान्तिकारी महत्त्व छ । हामी संसदीय राजनीतिमा अलि बढी लागेकामा केही धुलोमैलो जम्मा भएको छ । सायद कमरेड विप्लवजस्ता पार्टीहरू यहाँ मोर्चामा आउँदा हाम्रो धुलोमैलो सफा गर्न पनि मद्दत हुन्छ भन्ने मलाई लाग्छ । त्यस अर्थमा आजको यो मोर्चा गठन र घोषणाको दूरगामी महत्त्व छ भन्ने म ठान्छु । यो क्षणिक र आवेगमा गरिएको छैन ।’

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १९:२७
Weather Update