News Griha :: न्यूजगृह
ताप्लेजुङ पहिरो : घाइतेको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार
फाइल तस्बिर ।

ताप्लेजुङ— ताप्लेजुङको पहिरोमा परी गम्भीर घाइते भएका सिदिङ्वा गाउँपालिका–६ मेहेले मुकुभञ्ज्याङका राजकुमार राईलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि विराटनगर लगिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार सेनाको हेलिकप्टर उद्धारका लागि यहाँ पुगे पनि भारी वर्षा र मौसमका कारण निलगिरि माविको खेलमैदानमा डेढघण्टा रोकिएको थियो । मौसममा केही सुधार आएसँगै हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए । 

पहिरोले बगाएका राजकुमारलाई स्थानीयले घाइते अवस्थामा उद्धार गरेका थिए । ‘उहाँसँगै उद्धार गरिएका सुरेश राईको मृत्यु भइसकेको छ भने पहिरोले बगाएका सुरेशका बुबा केशरकुमार मृत अवस्थामा फेला परेका छन्,’ उनले भने । 

जिल्ला प्रहरी कार्यालयका अनुसार सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा पहिरोमा परी एकै परिवारका बाबु छोराको मृत्यु भएको छ । सोमबार बिहान गएको पहिरोमा परी मेहेलेका ६७ वर्षीय केशरबहादुर राई र छोरा ३६ वर्षीय सुरेश राईको मृत्यु भएको हो । आइतबार सोही गाउँका ३० वषीृय गणेश तामाङको शव फेला परेको थियो । 

प्रहरी नायब उपरीक्षक लिम्बूका अनुसार मेहेलेमा भालुखोपका ६३ वर्षीया भगीमाया बुढा क्षेत्री, उहाँकी बुहारी ३० वर्षीया सन्ध्या बुढा क्षेत्री र नाति नौ वर्षीय प्रज्वल बुढा क्षेत्री अझै बेपत्ता छन् । बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको उनले जानकारी दिए । 

पहिरोमा परी ४५ वर्षीय राजकुमार राई गम्भीर घाइते भएको जिल्ला कार्यालय ताप्लेजुङका प्रवक्ता प्रहरी निरीक्षक कुशुराम कार्कीले जानकारी दिए । उनका अनुसार राईको उद्धार गरी उपचारका लागि विराटनगर लगिएको छ ।

निरन्तर अविरल वर्षा भइरहेकाले बेपत्ताको खोजी तथा उद्धारमा समस्या भएको मेहेलेका स्थानीय कमल कडरियाले बताए । रासस

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १५:५८
Weather Update