News Griha :: न्यूजगृह
काठमाडौं–तराई द्रुतमार्ग तीन वर्षभित्रै निर्माण सम्पन्न हुन्छ : मन्त्री ज्वाला 

काठमाडौं— भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले तीन वर्ष भित्र काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण सम्पन्न गर्ने बताएका छन् ।

सोमबार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री ज्वालाले काठमाडौं–तराई द्रुतमार्ग निर्माण कार्य २०८३ सालभित्र सम्पन्न गर्ने कार्ययोजना बनाएको बताए । 

प्रधानमन्त्री सहित द्रुतमार्गको निरीक्षण भएको भन्दै अब लामो समय नलगाउने गरी महँगोमा भए पनि तीन वर्ष भित्र सम्पन्न गर्ने सरकारको योजना रहेको उनको भनाइ छ । 

उनले समयमा नै काठमाडौं–तराई द्रुतमार्ग निर्माण सक्नेगरी नेपाली सेनालाई जिम्मा दिए पनि विभिन्न कारणले ढिला भएको बताए । 

मन्त्री ज्वालाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सन्तुलित रहेको पनि दाबी गरे । उनले बाहिर चर्चा भए जस्तो सल्यान जिल्लामा धेरै बजेट नगएको बताए । 

मन्त्री ज्वालाले आफ्नो निर्वाचन क्षेत्र र जिल्लामा बढी बजेट बनाउने मनसायले योजना छनोट नगरेको स्पष्टीकरण दिए । उनले मन्त्रालयले विभेदपूर्ण रूपमा बजेट कटौती गर्ने र कुनै ठाउँमा बजेट थुपार्ने काम नगरेको बताए । 

संघअन्तर्गतका सडकहरूमा पाँच लाख मात्रै बजेट भौतिक मन्त्रालयले नभएर अर्थ मन्त्रालयले छनोट गरिदिएको उनको भनाइ छ । उनले बजेट सिलिङ बढाउनुपर्ने भौतिक मन्त्रालयको माग हुँदाहुँदै अर्थ मन्त्रालयले बजेट बनाउन ढोका बन्द गरेकाले परिवर्तन नभइ प्रत्येक सडकमा पाँच लाख विनियोजन भएर आएको बताए । 

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १४:४९
Weather Update