
काठमाडौं— नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एनसेलसँग मुद्दाको विषयमा प्रष्ट पार्न सरकारसँग माग गरेका छन् ।
सोमबार खर्च कटौतीको प्रस्ताव र निर्धारित विनियोजन शीर्षक माथिको छलफलमा सांसद सुवालले एनसेलसँगको १ खर्ब उठाउने मुद्दा सरकारले जित्यो र ४५ करोड रुपैयाँ सरकारले एनसेललाई तिर्नु पर्ने भन्ने कुरा आएको छ । तर उनले यसबारेमा नेपाली समाजमा भ्रम रहेकोले सरकारले नै यसबारेमा प्रष्ट पार्नु पर्ने माग राखे ।
उनले भने, ‘एनसेलसँग १ खर्ब उठाउने मुद्दा सरकारले जित्यो भन्ने समाचार आयो । र एनसेलले तत्कालै सरकारलाई तिर्नु पर्ने छैन भनेर पनि आयो । यो के भएको हो? र, अर्को ४५ करोड रुपैयाँ एनसेलका अधिकारीहरूको कारणले सरकारले एनसेललाई तिर्नु पर्ने भन्ने पनि छ । यसमा सरकारको अधिकारीहरूको के कमजोरी भयो । जनताको आम्दानी चाहीँ केही अधिकारीहरूको कारण एनसेललाई करोडौं तिर्नु पर्ने यसमा के भएको हो ? सम्बन्धित अधिकारीहरूले असुल उपर गर्नु पर्छ जनताले एनसेललाई तिर्ने कुरा हुँदैन ।’