
पाँचथर— पाँचथरको याङवरक गाउँपालिका–१ फेदीमा पहिरोमा फसेका १२ जनाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । उनीहरूलाई उद्धार गरी स्थानीय विष्णु माध्यमिक विद्यालयमा राखिएको छ ।
प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार १२ जना शनिबार रातिदेखि पहिरोमा फसेका थिए । घर रहेको स्थानको चारैतर्फ पहिरो आए पछि उनीहरू सुरक्षित स्थानमा जान सकेका थिएनन् । पीडित रातिदेखि नै उद्धारको पर्खाइमा थिए ।
हेलिकोप्टरमा उद्धार गरिएकाहरूमा ६० वर्षीया नरमाया गुरुङ, १६ वर्षीय सन्दीप गुरुङ, नौ वर्षीया हिमा गुरुङ, ८० वर्षीय कृष्णबहादुर गुरुङ, ६० वर्षीया डिकमाया गुरुङ, ३५ वर्षीय काजुहाङ गुरुङ, ३० वर्षीया सुनिता गुरुङ, ४३ वर्षीय मनबहादुर गुरुङ, ४४ वर्षीया मनकुमारी गुरुङ, १६ वर्षीया सुष्मा गुरुङ, ७० वर्षीय पदमबहादुर खालिङ र ६८ वर्षीया मनमाया खालिङ छन् । उनीहरूलाई विद्यालयमा अस्थायी आश्रयस्थल बनाएर राखिएको डीएसपी खतिवडाले जानकारी दिए । रासस